थेसिस किनबेच : क-कसको खुल्यो पोल?

| प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३


untitled-1
त्यसो त त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. तीर्थ खनियाँमाथि नै बौद्धिक चोरी अर्थात् plagiarism को गम्भीर आरोप लागेको कुरा धेरै पुरानो भएको छैन। त्यही विश्वविद्यालयमा थेसिसको किनबेचको खबर पनि नयाँ होइन। खोज पत्रकारिता केन्द्रका लागि प्रमोद आचार्यले गरेको अनुसन्धानमूलक रिपोर्टमा भने नाम चलेका प्राध्यापक, कर्मचारी, क्याम्पसका शिक्षकको खुलासा गरिएको छ।

Loading...

क-कसको नाम पोलिएको छ त यसमा?

आफ्नो नाम शिवराम गौतम बताउने त्रिभुवन विश्वविद्यालय डीन कार्यालयका शाखा अधिकृत शिवशंकर गौतम
विद्यार्थीलाई थेसिस बेच्ने, पुराना थेसिस ‘स्वीकृत गर्न’ विश्वविद्यालयभित्र ‘सेटिङ’ मिलाउने। “भट्टचनलाई राखेर गराइदिन्छु। चिन्तै लिनुपर्दैन।” ‘अरूलाई राख्न सकिंदैन ?’ भन्ने प्रश्नमा शाखा अधिकृत गौतमले भने, “जसलाई पनि भन्न सकिन्छ।”

खगराज लामिछाने
अंग्रेजी विभागमा एक लाख रुपैयाँसम्म खर्च गरेमा ‘प्रपोजल’ नै नलेखिकन र भाइवाको बेलामा मात्र गाइडलाई भेटेर पनि थेसिस स्वीकृत गराउन सकिनेरहेछ। अंग्रेजी विभागका कर्मचारी, लेक्चरर र विद्यार्थीको बीचमा अहिले सेटिङ मिलाउने काम गर्ने। उनले भने, “सबैतिर च्यानल मिलाउनुपर्छ। इन्टरनल, एक्सर्टनल र प्रशासनका सबैलाई खुवाउनुपर्छ। कहींबाट ‘लिक’ नहुने गरी बनाउनुपर्छ।” कसले तयार गर्छ यति महङ्गो थेसिस भन्ने प्रश्नमा उनले, “आवश्यकता अनुसार डिपार्टमेन्टकै सरहरूले लेख्ने” बताए। त्रिवि अंग्रेजी केन्द्रीय विभागमै पढेका खगराज हाल स्यूचाटारस्थित एक निजी स्कूलमा पढाउँछन्।

गोकुल घिमिरे
त्रिवि परिसरकै कला बुक्सका गोकुल घिमिरेले फाइनान्सको थेसिस २० हजारमा ‘लेख्न लगाइदिने’ बताए। उनले ‘थेसिस स्वीकृत गराउन विभागका सरहरूसँग कुरा गरिदिने’ जिम्मा पनि लिए। घिमिरेले भने, ‘सरोज सर, महानन्द सर, भवानी सर हुन् भन्ने मान्छे चाहिं।’ उनले नाम लिएकामध्ये भवानी (शङ्कर आचार्य) त्रिविका विद्यावारिधि प्राध्यापक हुन्।

जनक केसी
त्रिविकै पूर्व कर्मचारी जनक केसीले “समाजशास्त्र विभागमा आफ्नो राम्रो चिनजान भएकोले प्रपोजल नै पेश नगरी थेसिस स्वीकृत गराइदिने” बताए। उनले भने, “सुरेन्द्र मिश्र सरलाई भनेपछि अरू केही गर्नुपर्दैन, म च्यानल मिलाइदिन्छु। तपाईंलाई प्रपोजल नदिइकन एकैपटक ‘भाइवा’ मिलाइदिन्छु।”

मनमोहन थापा
अरूका पुराना थेसिस तल–माथि पारेर विद्यार्थीलाई बेच्ने एकजना व्यक्ति हुन्, मनमोहन थापा। कसैलाई पाटन क्याम्पस त कसैलाई एशियन कलेज पढाउने व्यक्ति हुँ भन्ने थापा त्रिवि परिसरको ज्ञानकुञ्ज फोटोकपी र हिराबुक्स सेन्टरमार्फत काम गर्छन्। पहिल्यैदेखि ‘थेसिस कारोबार’ गर्दै आइरहेको बताउने उनी एउटा थेसिसको पन्ध्रहजार रुपैयाँ लिन्छन्। हामीसँगको कुराकानीमा उनले “व्यवस्थापन, ग्रामीण विकास र राजनीतिशास्त्रका सरलाई ‘राम्ररी चिनेको’ भन्दै सजिलै थेसिस पास गर्न सकिने” बताए। उनले “ग्रामीण विकास विभागका लेक्चरर उमेशप्रसाद आचार्यलाई अनुरोध गरे पास गर्न सजिलो हुने” ठोकुवा गरे। उनले यस्तोसम्म दाबी गरे कि तीस हजार रुपैयाँ खर्च गरे व्यवस्थापन विभागको थेसिस विना प्रपोजल पास गर्न सकिन्छ। “म मिलाइदिन्छु टिचर” उनले भने “सही गर्नेले दश हजार लिन्छन्। लेख्नेले दशहजार। कर्मचारीलाई पनि दिनुपर्छ।” उनले राजनीतिशास्त्र विभागका प्रा.डा. रामकुमार दाहाललाई मनाएर प्रपोजल नबुझाइकनै पनि थेसिस स्वीकृत गर्न सकिने बताए। मनमोहन थापाप्रति विश्वास गर्न भन्दै त्रिवि परिसरको ज्ञानकुञ्ज फोटोकपी पसले टुकानाथ शर्माले भने, “अहिलेसम्म सयौं थेसिस गरिसकेका मान्छे हुन्। चिन्ता लिनै पर्दैन। ढुक्क भए हुन्छ।”

सेटिङका उदाहरण
विद्यार्थीहरू खेताला लेखक खोज्दै हिंड्ने, खेताला लेखकले पहिल्यैका थेसिसलाई काँटछाँट गरेर एउटा स्वरुपमा ल्याउने र थेसिस सुपरभाइजरसँगको मिलेमतोमा स्वीकृत गर्ने गरिएकाले एउटै थेसिस एकभन्दा बढी विद्यार्थीका नाममा प्रयोग भएको प्रशस्तै भेटियो।

एउटा उदाहरण हो, त्रिवि अन्तर्गतको ग्रामीण विकास विभागमा रहेको नेपालका बालश्रमिक सम्बन्धी थेसिस। यादव भट्टराई, बिन्दुकुमारी घर्तीक्षेत्री र मुनाकुमारी आचार्यको ‘डोमेस्टिक चाइल्ड लेबर इन नेपाल’ थेसिसले सबैलाई हँसाउँछ। अनुसन्धान गरिएको भनिएको ठाउँको नाममा कसैले पुतलीसडक, कसैले ठमेल त कसैले गोंगबु भनेर लेख्ने बाहेक बाँकी विवरण एउटै छ।

यी तीनमध्ये दुई वटाको थेसिस सुपरभाइजर (उमेशप्रसाद आचार्य), एक्सटर्नल एक्जामिनर (सुमन बास्कोटा) समेत उही व्यक्ति छन्, जसमा विभागीय प्रमुख प्रा.डा.प्रदीपकुमार खड्काले हस्ताक्षर गरेका छन्। यसैगरी शान्ता पहाडी र अन्जना बिष्ट भण्डारीको नाममा लेखिएका बालश्रमिक सम्बन्धी थेसिसको शिरपुछार एउटै छ। यिनलाई चन्द्रलाल श्रेष्ठ र विमल पौडेलले स्वीकृत गरेका छन्। पहाडी र बिष्टको थेसिससँग मिल्दोजुल्दो थेसिस प्रतिमा शर्माले पेश गरेकी छन्। जसलाई चन्द्रलाल श्रेष्ठले नै स्वीकृत गरिदिएका छन्।

अर्को उदाहरण ग्रामीण विकास विभागका प्राध्यापकहरू डा. मंगला श्रेष्ठ र डा. उमाकान्त सिलवालले दुई विद्यार्थीका नामबाट बुझाइएको एउटै व्यहोराको थेसिस एकै वर्ष स्वीकृत गरेका छन्। पारस भण्डारीको नामको ‘रोल अफ रेमिट्यान्स इन दी रिडक्सन अफ रुरल पोभर्टी–अ केस स्टडी अफ मच्छेगाउँ भीडीसी अफ् काठमाडौं डिस्ट्रिक, नेपाल’ र तुलसीराम नेपालको नाममा रहेको ‘रोल अफ रेमिट्यान्स इन दी रिडक्सन अफ रुरल पोभर्टी–अ केस स्टडी अफ कर्मैया भीडीसी अफ सर्लाही डिस्ट्रिक, नेपाल’ शीर्षकको थेसिसमा सबैजसो विवरण एउटै छ। पारसले सन् २०१४ मा र तुलसीरामले सन २०१५ मा बुझाएका यी थेसिसकै भाषासँग जुनमाया घर्तिको नाममा रहेको अर्को थेसिसको भाषा पनि धेरै हदसम्म मिल्दोजुल्दो छ, जसको सुपरभाइजर छन् प्रा.डा. चन्द्रलाल श्रेष्ठ। ग्रामीण विकास विभागबाटै स्वीकृत भएका थेसिसहरू हेर्दा रेमिट्यान्स, सोसल इन्क्लुजन र टुरिजम विषयका प्रायः थेसिसहरूको भाषा एउटाको अर्कोसँग मिल्दो छ।

समाजशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्र विभाग पनि यो रोगबाट मुक्त छैनन्। वैदेशिक रोजगारीले निम्त्याएको असर-परिवर्तन, विभिन्न जातजातिमा आएको सामाजिक, आर्थिक परिवर्तन, सहभागिता र समावेशिता जस्ता विषयमाथि लेखिएका थेसिसहरूको भाषा र तथ्यांकसमेत धेरै मिल्छ।

राजनीतिक शास्त्र विभाग
राजनीतिशास्त्र विभागमा बुझाइएका थेसिसमध्ये नेपालको संविधानसभामा महिला सहभागिता विषयमा लेखिएका दुईवटा थेसिस हुबहु भेटिए। बमबहादुर रावल र राजु कुँवरको नाममा रहेको एउटै शीर्षकको थेसिसका सुपरभाइजरहरू क्रमशः सिद्धिलक्ष्मी वैद्य र मनोहर पराजुली छन्।

राजनीतिशास्त्र विभागमै नेपाली पत्रकारिताको विकासबारे २०६३ र २०६४ सालमा लेखिएको राजेश झा (२०६३) र तेजविलास अधिकारी (२०६४) को थेसिस पनि एउटै छ। यी दुवै थेसिसले नेपाली पत्रकारिताको अवस्था नै चित्रण गर्दैनन्। जस्तो कि ‘नेपालमा कार्यरत आमसंचारमाध्यम र पत्रकारिताका व्यावसायिक संगठनहरू’ शीर्षकमा नेपालका सञ्चारमाध्यमहरूमा रेडियो नेपाल, नेपाल टेलिभिजन र राससको नाम मात्रै उल्लेख छ। यतिसम्म कि नेपाल पत्रकार महासंघ नाम गरेको संस्था छ भन्ने यो थेसिस पढ्दा थाहा हुन्न। थेसिसका सुपरभाइजरहरू क्रमशः प्रा.डा. अनन्तराज पौडेल र प्रा.डा. रामकुमार दाहाल छन्।

राजनीतिशास्त्र विभागमा नेपालमा संयुक्त राष्ट्रसंघको भूमिका, नेपाल–भारत तथा नेपाल–चीन सम्बन्ध, नेपालको मानवअधिकार र शान्तिप्रक्रिया जस्ता विषयमा लेखिएका थेसिसहरू छन्। आश्चर्यको कुरा तिनमा पनि धेरैको भाषा एक अर्कासँग हुबहु मिल्छ।

समाजशास्त्र विभाग
यसअन्तर्गत पूजा बस्नेत र ललिताकुमारी पराजुलीले लेखेका थेसिसहरूको भाषा र व्याख्या अधिकांश एउटै छ। यी दुवै थेसिसका सुपरभाइजर छन् डा. कृष्ण भट्टचन। पराजुलीको नाममा रहेको ‘महोत्तरी जिल्ला हाथिलेट गाविसका कामी जातिको अन्य जातजातिसँगको सम्बन्ध’ शीर्षकको थेसिस र बस्नेतको नाममा रहेको ‘महोत्तरी जिल्ला हाथिलेट गाविसका मगर जातिको अन्य जातजातिसँगको सम्बन्ध’ शीर्षकको थेसिस स्वीकृत गर्ने थेसिस कमिटीमा डा. सुरेन्द्र मिश्र, मधुसूदन सुवेदी र प्रा.डा.तुलसीराम पाण्डे छन्।

अर्थशास्त्र विभाग
यसको लागि नेपालमा पर्यटनको सम्भावना र चुनौतीका विषयमा लेखिएका सृष्टि कर्माचार्य र इन्दिरा घिमिरेको नाममा रहेका थेसिसहरूको भाषा र विषयवस्तु मिल्दो छ। जसलाई स्वीकृत गर्ने थेसिस कमिटीमा डा. रामप्रसाद ज्ञवाली, डा. उमाशंकर प्रसाद, रश्मि राजकर्णिकार र सञ्जयबहादुर सिंह छन्।

शंकरदेव क्याम्पसका प्रमुख
शंकरदेव क्याम्पसछेउको डिजिटल फोटोकपीका डीआर पोखरेलले भने, “मेरो कमलदीप ढकालसँग घरमा जाने–आउने सम्बन्ध छ।” उनले नाम लिएका ‘कमलदीप’ शंकरदेव क्याम्पसका प्रमुख प्रा.डा. कमलदिप ढकाल हुन्।

‘कमलदीप’ ले प्रमाणित गरेका केही थेसिसहरू हेरेपछि थाहा भयो, पोखरेलले भनेको साँचो रहेछ। उनले प्रमाणित गरेका थेसिसहरू पटकपटक दोहोरिएका र एकअर्कासँग हुबहु भेटिए। जस्तो कि सृजना ढकाल र सप्तसिंह तामाङले बुझाएका ‘डिभिडेन्ड पोलिसी अफ कमर्सियल बैंक’ शीर्षकको एउटै व्यहोराको थेसिस उनी संलग्न थेसिस कमिटीले पास गरिदिएको छ। थेसिसहरू स्वीकृत गर्ने अन्यमा एसोसिएट प्रोफेसर रुचिला पाण्डे (थेसिस सुपरभाइजर), प्रोफेसर विश्वेश्वरमान श्रेष्ठ (रिसर्च हेड) र डा. सिलु बज्राचार्य (थेसिस सुपरभाइजर) छन्। यस्तै ढकालले शंकरदेव क्याम्पसमा प्रमाणित गरेको अर्को एउटा थेसिस सोही वर्ष (सन् २००९) पिपल्स क्याम्पसबाट स्वीकृत भएको थेसिससँग हुबहु मिलेको भेटियो। महिम भट्टराईले शंकरदेवबाट र पुरुषोत्तम लामिछानेले पिपल्सबाट बुझाएको एउटै व्यहोराको थेसिस प्रमाणित गर्नेहरूमा प्रोफेसर विश्वेश्वरमान श्रेष्ठ, श्रीभद्र न्यौपाने, एसोसिएट प्रोफेसर लक्ष्मण जोशी, मंगलदास प्रधानाङ्ग र भरतकुमार प्रधान छन्। भट्टराई र लामिछानेमध्ये कसले कसको थेसिस सारेको हो वा दुवैले अरू कसैको ‘कपी’ गरेका हुन् भन्ने यकिन गर्न मुश्किल छ।

रिसर्च हेडको चाला
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसछेउको ओमसाई फोटोकपीका पवन श्रेष्ठ पुराना थेसिस एकअर्कामा मिसमास गरेर १० हजारमा बेच्छन्। उनले क्याम्पस पुस्तकालयबाट ‘प्रपोजल’ र थेसिस निकाल्न र स्वीकृत गराउन आफूले क्याम्पसका कर्मचारी राजन लामामार्फत रिसर्च कमिटीसम्म पहुँच राख्ने खुलासा गरे। उनले यस्ता थेसिसहरू सहजै स्वीकृत गराउन ‘रिसर्च हेड’ प्रा.डा. सुशीलभक्त माथेमा, मदन कँडेलसँग भनसुन गर्दारहेछन्। पवनले हामीसँग भने “तपाइँले केही टेन्सन नै लिनुपर्दैन। जसरी पनि थेसिस पास गर्ने हो।”

उनको भनाइ परीक्षण गर्न हामीले सो क्याम्पसमा संग्रहित केही थेसिसहरू निकालेर हे¥यौं। अवस्था पवनले भनेजस्तै देखियो। त्यहाँ एउटै थेसिस पटकपटक दोहोरिएका थिए। स्वीकृत गर्ने थेसिस सुपरभाइजरहरूमा डा. सुशीलभक्त माथेमा र मदन कँडेलकै नाम भेटियो। सन् २०१० मा माथेमा र कँडेल दुईले हस्ताक्षर गरेको रवीन्द्रप्रसाद ओझाको नाममा रहेको थेसिस एक वर्ष अगाडि सुरक्षा नेपालको नाममा लेखिएको थियो। सुरक्षा नेपालका थेसिस सुपरभाइजरहरू प्रा.डा. विहारी विनोद पोखरेल र उमेशकुमार कोइराला थिए। दुवै थेसिसमा क्याम्पस प्रमुख दिवाकर पोखरेलले पनि सही गरेका छन्। यी दोहोरिएका थेसिसहरूबाट थपघट गरेर देवकी आचार्यले अर्को थेसिस बुझाइएकी छन्, जसको अधिकांश जानकारी र व्याख्या अघिल्ला दुवै थेसिसहरूसँग मिल्छ। यो थेसिस स्वीकृत गर्नेमा पनि माथेमा, पोखरेल र गणेश भट्टराई छन्। क्रेडिट म्यानेजमेन्ट, क्यापिटल एडेक्वेसी, क्यास फ्लो, कस्ट भोल्यूम एनालिसिस जस्ता विषयमा लेखिएका थेसिसको धेरै विवरण हुबहु छ, जसमा माथेमाकै हस्ताक्षर छ।

(खोज पत्रकारिता केन्द्रको पूर्ण रिपोर्ट यहाँ क्लिक गरी पढ्न सकिन्छ)


Loading...