राष्ट्रका गहना कहिलेसम्म माग्ने बनिरहने ?

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

श्रीकृष्ण न्यौपाने/ काठमाडौं, ८ वैशाख । केही दिन अघिको एक राष्ट्र दैनिकको एउटै पानामा छापिएका दुई वटा सुखद समाचारले चिमोट्यो । दुवै समाचारले फराकिलो मन र सहयोगी भावनाका बारेमा भनेका थिए । तर मेरो मनलाई त्यो सकारात्मक समाचारको कारक बनिरहेको अँध्यारो पाटोले बढी चिमोटेको थियो । समाचारमा थियो – बिरामी अभिनेता दीपक क्षेत्रीलाई अष्ट्रेलियाका नेपालीले ३ लाख रूपैया सहयोग उठाए । अनि अर्को, लोक गायक सोमबहादुर लामालाई ह्विल चेयर सहयोग ।

Loading...

समाचारले नेपाली मन र सहयोगी भावनालाई चित्रित गरेको थियो । एउटालाई दुख्दा अर्काको मन कसरी थामिन सक्ला ? भन्ने नेपाली भावनालाई समाचारले समेटेकोमा खुसी लाग्नु स्वभाविक हो । त्यो समाचार भित्रका अर्को पाटोले खुसी भन्दा बढी पीडा भयो । राष्ट्रका गहना भनिने कलाकार बिरामी पर्दा पनि आर्थिक अभावमा छटपटिनु पर्ने नियती देखेर सिङ्गो समाजको रूप कति विकराल होला ? स्वास्थको जिम्मा राज्यले लिइदिने हो भने उपचार अभावमा सहयोगको याचना सहितका समाचार दिनहु पढ्नु पर्ने थिएन । आम सर्वसाधारणले उपचार सहयोगको याचना गर्दै बैंक एकाउण्ट नै राखेर पैसा मागिएका सूचना त पत्रिकाले दिनहुँ निशुल्क छापी दिनु पर्छ । यी तथ्यले भनिसकेका छन् आर्थिक अभावमा हामी जीवन रक्षाका लागि कति हार गुहार गरिरहेका छौं । केही उदाहरण राज्यकोषको ढिकुटीबाट लाखौं उपचार खर्च लिने नेतागणका पनि छँदै छन् ।

कलाकार, नेता, अभिनेता या आम नेपाली जो सुकै होस्, सबैको जीवन प्रतिको अधिकार बराबरी हो । अकालमा कसैले पनि ज्यान गुमाउन नपरोस् । पहुँच र हैसियत भएकाले मात्रै बाँच्न पाउने अरू अकालमै मर्ने भन्ने न कुनै दलको घोषणा पत्रमा लेखिएको छ न कुनै दलको एजेण्डा नै हो । सबैले भाषण गर्दा सभ्य समाजवादको नै व्याख्या गरेका छन् । अझ नयाँ संविधानले त स्वास्थलाई मौलिक अधिकारका रूपमै व्याख्या गरेको छ । तरपनि अझै जीवनको याचना गर्दै आर्थिक सहयोग माग्नु पर्ने नेपालीको नियती नै बनेको छ । नेपाली समाज अझै अस्वस्थ, रोगी र थलिएको छ । यो नियतीले समाजभित्रका कलाकारलाई छुट दिने कुरै भएन । विरामले धनी, गरिब, पढेको नपढेको कलाकार, मजदुर, नेता केही भन्दैन । रोग जसलाई पनि लाग्न सक्छ । चेतना अभाव र गरिबीका कारण विपन्न वर्ग बढी पिडित छन् । तर समाजका ऐनाका रूपमा हेरिएका कलाकार जसको सिको गरेर समाज रूपान्तरित हुने गर्छ त्यही वर्ग आफ्नै असावधानी, हेलचेक्राई र अव्यवस्थित जीवनशैलीका कारण रोगले थलिनु कतिको बुद्धिमता होला ? पेशामा सक्रिय भएका बेला कमाएको सानो हिस्सा पनि भविष्यका लागि जोहो गर्न नसक्दा यस्तो नियती हाम्रा कलाकारले भोग्नु परेको नौलो हैन ।

दुर्व्यसनी र मदिराको लतका कारण नेपाली समाजले धेरै कलाकारलाई अकालमै गुमाएको छ । हरिभक्त कटुवाल, नारायण गोपाल, अरूण थापा, कुल्स पोख्रेल, खेम गुरूङ्ग, गोपालराज मैनाली जस्ता चर्चित कलाकारले अनुशासित खानपान र जीवनशैली अपनाएको भए सम्भवतः उनीहरूले अकालमा ज्यान गुमाउनु पर्ने थिएन । हाम्रो जस्तो विपन्न र अशिक्षित समाजलाई बुझाउनु पर्ने बर्ग नै यस्तो दुर्व्यसनी र लतमा फस्दा समाजले उनीहरूबाट के सिक्छ ?

जीवनको उर्जाशील उमेर कला कर्ममा खर्चिएका कलाकारले आर्जनको सानो हिस्सा भविष्यका लागि नसाच्ने हो भने यस्तो नियती हामीले अझै खेपिरहनु पर्नेछ । बैस र स्वास्थ सधै एकनास हुँदैन उमेरमा गरिने रसरङ्ग र रमाइलो सँधै रहँदैन यो प्रकृतिको नियम हो । प्रकृतिको यहि नियमको उपेक्षा गर्दा हाम्रा केही कलाकारले अल्पायुमा आफ्ना शुभचिन्तकलाई छाड्नु परेको छ । नेपाली समाज कलाकार प्रति सँधै सम्मान र आदरभाव व्यक्त गर्छ तर कलाकार किन आफैंले आफुलाई माया गर्दैनन् ? शारिरिक स्वास्थ र आर्थिक स्वास्थमा अलिकति मात्रै पनि चनाखो हुने हो भने अहिलेका कलाकारको कमाई भविष्यका लागि पर्याप्त हुन सक्ने ठाउँ छ । कलाकारको आयमा राज्यले पनि आखा चिम्लिएको छ । उनीहरूलाई करको अनिवार्य दायरामा ल्याएको छैन । राज्यले नदेखेझैं गरी कलाकारलाई करमा कडाइ गरेको छैन तैपनि कलाकार आर्थिक अवस्थामा किन कमजोर ? एउटा कर्मचारीले समेत कर काटेर मात्रै मासिक तलब हात पार्छ । व्यवसायी र अन्य वर्गले समेत राज्यलाई कर तिरिरहेका छन् । तर कलाकारले देश विदेशमा गरिने कार्यक्रम अनि एउटा सिनेमा खेलेबापत पाएको पारिश्रमिक बापतको लाखांै रूपैयालाई करको बाध्यकारी नियम भित्र ल्याइयो भने झन कलाकारको हविगत के होला ? अझै त फितलो नियमका कारण कलाकारले आयकरलाई लुकाउन सकिरहेका छन् ।

कलाकारले मात्र हैन अन्य क्षेत्रकालागि पनि भरसक कर तिर्न नपाए हुन्थ्यो भन्ने मनोभाव नै देखिन्छ । कर तिरीसकेपछि राज्यले पनि नागरिकको सामाजिक सुरक्षा दिन बाध्य हुनुपर्छ । टाढा नजाऔं छिमेकी मुलुक भारतको अवस्था नै हेरौं जहाँ हरेक कलाकारले आफुले कमाएको रकम मध्येबाट ३५ प्रतिशतसम्म कर बुझाउनु पर्छ । उनीहरूले बुझाएनन् भने पनि राज्यले उनीहरूलाई कठालो समातेर नै करको दायरामा ल्याउँछ । त्यसैले पनि कतिपयले करबाट मुक्ति पाउन ट्रस्ट वा फाउण्डेसन मार्फत समाजसेवा गरेका छन् । यति टाढासम्म नजाऔं उनीहरूको कमाई जस्तो नेपाली कलाकारको कमाइ उच्च छैन तर जति छ त्यहीबाट सानो हिस्सा भविष्यका लागि जोगाउन किन सकिदैन ? यहि प्रश्न अब हरेकले सोच्नु पर्ने भएको छ । समाजले कलाकारलाई सेलिब्रेटीका रूपमा हेरेको हुन्छ । उनीहरूका गतिविधी शुभचिन्तकका लागि चासो बन्छ । यसो भन्दैमा मध्यरातसम्म ठूला–ठूला रेस्टूरेन्टमा बस्नै पर्ने महंगो जीवनशैली अपनाउनै पर्ने भन्ने हुदैन । समान्य जीवन शैलीमा पनि कलाकारले सभ्य र भव्य जीवन बाच्न सक्छन् । जसले याचनाको अपिल गर्नुपर्ने बाध्यकारी समयको जन्म गराउँदैन ।

वर्षौदेखि रोगसँग लडिरहेका दिपक क्षेत्री जो अहिले गुमेको आवाज चाहिरहेका छन् । यसका लागि उनले कुन मन्त्री भेटेनन् कसलाई सुनाएनन् आफ्ना व्यथा ? तर कतैबाट केही हात लागेन । अन्ततः विदेश बस्ने नेपालीले उनको उपचारलाई सहयोग गर्ने पहल गरे । पहिलो चरणमा ३ लाख रूपैया जम्मा पनि गरिदिए । उनै क्षेत्री कुनैबेला सिनेमासँगै क्यासिनोमा पनि काम गर्थे मनग्ये आम्दानी थियो । कमाइ राम्रो भएपछि साथीभाई पनि अघिपछि हुन्थे । मध्यरातसम्म मदिराका लागि साथ दिनेहरू धेरै थिए जतिबेला सबथोक थियो । तर रोगले च्यापेपछि न साथीभाई न आफन्त नत पेशागत संघ संस्थाका पदाधिकारी नै उनी सामु देखिए ।

राज्यका लागि हरेक नागरिक बराबरी हुन् । चाहे विशिष्ठ व्यक्तित्व होस् या समान्य मानिस दुवैप्रति राज्य उत्तिकै उत्तरदायी हुनुपर्छ । राज्यका नजरमा को कलाकार को किसान, मजदुर भन्ने भेदभाव हुनुहँुदैन । कलाकारले पनि आफ्नो पेशा र आयआर्जनका लागि आफ्नो कलाकर्म गरेको हुन्छ भने किसान, मजदुर र कर्मचारीले पनि आफ्नो दैनिकीका लागि श्रम खर्चिएको हुन्छ । यस अर्थमा हेर्ने हो भने सबैले आ–आफ्ना क्षेत्रबाट आफ्नै लागि गरेका हुन् । त्यसैले राज्यले दिने सुविधामा वर्ग, पेशा र पहुँचका आधारमा विभेद गरिनु हुँदैन । राज्यबाट सहयोगको अपेक्षा गरिरहँदा हामीबाट राज्यले के पायो भन्ने उत्तरदायी भावना पनि स्वयंममा हुनुपर्छ । जसका कारणले राज्यलाई दबाब दिन नैतिक बल मिल्ने थियो । अरूले पाए त्यसैले मैले पनि पाउनुपर्छ भन्ने तर्क त गर्न सकिएला तर राज्यले सबैलाई दिन सक्ला ? आफु र आफ्नो परिवारसँगै सबैलाई दिन सक्ने समृद्ध राज्य बनाउने दायित्व पनि अब हाम्रो हो । त्यसैले कर नतिर्ने नागरिकको सुरक्षामा राज्यले पनि आँखा चिम्लिन मिल्दैन ।

The post राष्ट्रका गहना कहिलेसम्म माग्ने बनिरहने ? appeared first on Sajha Post.