के आतंकवाद विस्तारका लागि ‘प्रेम’ भयानक हतियार बनिरहेको छ ?

| प्रकाशित मिति: शनिबार, बैशाख २, २०७४


Loading...

यथार्थ प्रेम लागु औषध जस्तै हो । प्रेमको लत लागेपछि त्यसलाई छुटाउन कठिन हुन्छ । त्यसकारण प्रेम सबैभन्दा बलियो हतियार पनि हो । प्रेम तपाइले खोजेको केही होइन तर केही हो जसले तपाइलाई खोज्छ । अपरिपक्व प्रेमले भन्छ– म तिमीलाई प्रेम गर्छु, किनभने मलाई तिम्रो आवश्यकता छ तर परिपक्व प्रेमले ‘तिमी मेरो आवश्यकता हो, त्यसकारण तिमीलाई म प्रेम गर्छु’ भन्छ । प्रेमका अनेक भाषा छन् । यसको परिभाषा चाहीँ छैन । त्यसो भए प्रेम के हो ?

Loading...

अहिले विश्वबजारमा प्रेम राजनीति, हिंसा र धार्मिक सम्प्रदायको विखण्डनको प्रमूख मुद्दा बनेको छ । खासगरी, छिमेकी भारतमा प्रेम दुई धार्मिक सम्प्रदायका लागि कठिन चुनौति बनेको छ, धार्मिक राजनीतिका कारण । एक सय ३० करोड जनसंख्या भएको भारतको दुई सम्प्रदायको मिलनविन्दु नै ‘प्रेम’ थियो । प्रेममाथि कमैले मात्र राजनीति गरेका थिए । भारत–पाकिस्तान मिलनविन्दुको कारण पनि प्रेम थियो ।

आणविक हतियार, रसायनिक ग्यासको प्रयोगबाट विश्वामा आतंकवादको विस्तार भएको चर्चा एकातिर चलिरहँदा अर्कातिर ‘प्रेम’ पनि आतंकवादी हतियारका रूपमा उपयोग भएको दाबी गरिएको छ । यी दुवै प्रकारका हतियारलाई मुस्लिम समुदायको संरक्षणको नाममा खुलेका आतंकवादी संघसंस्थाले गरिरहेको अभियोग लागेको छ । एकातिर परमाणु युद्धको शंखघोषको सन्त्रास छ, अर्कातिर धार्मिक हस्तक्षेपका लागि ‘प्रेम’ हतियार बनिरहेको बहस बढ्दो छ । जसलाई मुस्लिम समुदायाले ‘लभ जिहाद’का नाममा अघि बढाएको भनिन्छ । प्रेमका साहित्यीक र प्रेमिल भाषा एकातिर छँदै छन् ।

तर, अहिले त्यहि प्रेम दुश्मनीको जड बनिरहेको छ । के प्रेम जिहाद हो ? या फरियाद हो ? अहिले आतंकवादीहरूले ‘लभ जिहाद’को नाममा चलाएको एउटा अभियानका कारण हिन्दु र मुस्लिमबीचको दूरी बढ्न थालेको छ । हिन्दूत्वको संरक्षण गर्ने शक्ति भारतीय सत्ताका हरेक प्रादेशिक संरचनामा सक्रिय हुँदा असल प्रेममा पनि साम्प्रदायिक लेप लगाई राजनीति हुनुले विश्वमा प्रेमको भाषा कसरी बुझ्ने भन्ने चिन्ता बढेको छ । भारतमा हिजोआज पनि हिन्दु नव निर्माण सेनादेखि विभिन्न संगठनले अहिले लभ जिहादका नाममा मुस्लिम समुदायका युवाले हिन्दु युवतीको हरण गरेको भन्दै प्रशासनसम्म उजुरीमात्र होइन, आफैंपनि प्रत्यक्ष कारवाहीको प्रक्रिया अघि बढाउन थालेका छन् । जुन विवादीत र बहसको विषय बनिरहेको छ । भारतमा नरेन्द्र मोदी सरकारको उदय र प्रादेशिक राज्यमा पनि भारतीय जनता पार्टी (जो हिन्दुत्वका लागि आवाज उठाउँछ) उसको वर्चश्व बढिरहेका बेला यो बहस उत्तोलित भइरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भनेका छन्–‘भारतबाट लभ जिहाद अन्त्य नभए पाकिस्तानले अनेक प्रकारले भारतमा घुसपैठ बढाउने छ । आतंकवादीहरूको चलखेल बढ्नेछ । त्यसकारण रोक्नुपर्छ ।’ उनले त मुस्लिम समुदायका युवाले एक हिन्दु युवतीलाई प्रेमका नाममा लभ जिहादमा फँसाए, सय मुस्लिम युवतीलाई हिन्दुले लैजानेसम्मको चेतावनीसम्म दिएका थिए । के उनले भनेजस्तो भारतमा लभ जिहादको जड गाडिएकै हो त ? के हो लभ जिहाद ? कहाँबाट आयो लभ जिहादको चर्चा ?

लभ जिहादलाई रोमियो जिहाद पनि भन्ने गरिएको छ । हिन्दु समुदायका युवती र किशोरीलाई प्रेममा पारी धर्म परिवर्तन गराउनका लागि मुस्लिम समुदायका युवक र किशोरको प्रयोगमा गरिने प्रेम र विवाहलाई लभ जिहादको संज्ञा दिइएको छ । यसलाई भावनात्मक हतियारको प्रयोगबाट मुस्लिम समुदायले अन्य समुदायका युवतीलाई मुस्लिम बनाउन गरिएको रणनीतिक चालका रूपमा पनि बुझिने गरिएको छ ।

भारतीय अधिकारीहरूले २००९, २०१०, २०१२ र २०१४ मा गरेको अनुसन्धान र प्रमाणका आधारमा मुस्लिम समुदायले लभ जिहादको नाममा यसरी ‘प्रेम’लाई हतियार बनाई धर्म परिवर्तन गराउन थालेको जनाइएको थियो । एकपटक रोयटर्सले जारी गरेको रिपोर्टका अनुसार भारतको केरला र मङगलोरबाट लभ जिहादका नाममा मुस्लिम संघसंगठनले यसलाई तिव्रता दिएको हो । तर, मुस्लिम समुदायले यस आरोपको खण्डन गर्दै आइरहेको छ । धार्मिक रणनीतिबाट भावनात्मक अपिल गरी धर्म परिवर्तन गराउने काममा सक्रियता देखाउने मुस्लिम समुदायले लभ जिहादलाई बढावा दिएको दाबी गरिँदै आएको छ । हिन्दु धर्म संरक्षणका लागि सक्रिय विभिन्न संघ संगठनले लभ जिहादको नाममा हिन्दु बालिका, किशोरी र युवतीलाई फकाएर धर्म परिवर्तन गराउने मात्र नभएर बलात्कारसम्मका हुने गरेको छ ।

अमेरिकाबाट प्रकाशित हुने सिकागो ट्रिव्युनका विदेश नीति संवाददाता सिद्धार्थ महन्थाका अनुसार आधुनिक विश्वमा लभ जिहादको सुरुआत १९४७ बाट नै भारतमा सुरु गरियो । यसको सक्रियता पाकिस्तान र वंगलादेशबाट गरी भारतमा व्यापक गरिएको  दाबी पनि गरिएको थियो । भारतमा रहेका ८१ प्रतिशत हिन्दुलाई प्रभावित पार्नका लागि १३ प्रतिशत मुस्लिमले लिएको रणनीतिक अभ्यास ‘लभ जिहाद’ रहेको दाबी गरिएको छ ।

लभ जिहादकै नाममा अहिले चलिरहेका मुस्लिम आतंकवादी संगठनहरू आईएस, लस्कर–ए–तोएवा, मुस्लिम लिग वा अन्यबाट युवकहरू सक्रिय रहेको भन्ने यकिनन् प्रमाणचाहीँ फेला परेको छैन । तर, तीन हजार हिन्दु युवतीलाई लभ जिहादका नाममा मुस्लिम समुदायले फँसाएको राजनीतिक र धार्मिक दाबी भने भारतमा नभएको होइन । लभ जिहादका नाममा त्यस्ता कुनै पनि काम नभएको दाबी त धार्मिक संघ संगठनले त गर्दै आइरहेका छन् । भारतमा सक्रिय रहेका कतिपय आतंकवादी संगठनसँग सरोकार नभएका मुस्मिल संघ संगठनले पनि लभ जिहादको अभियोग झुठा भएको बताउँदै आएका छन् । यसले प्रेममा असर परिरहेको उनीहरूको गुनासो पनि रहँदै आएको छ । तर, यदि यो सत्य भए के हुन्छ ?

बिनोद ढकाल

भयानक मिसाइल, परमाणु हतियारको उपयोग र प्रहारको धम्की आइरहेका बेला त्यसको प्रतिरोधको विषय भनेको राज्यको हुन्छ । राज्य त्यसमा सक्षम हुँदा मानव निर्मित हतियार काम नहुन सक्छ । तर, प्रेमलाई हतियार बनायो भने के हुन्छ ? प्रेम मान्छेको भावना हुँदै समुदाय र धर्मसम्म पनि सुसुप्त ढंगले गहिरो रुपमा बस्ने भएकाले यो खतरनाक हतियार हुन्छ । आतंकवादको यो रणनीतिक अभ्यास हुँदा प्रत्येक परिवार र समुदायसँग उनीहरूको भावनात्मक र प्रतिशोधको सम्बन्ध विस्तार हुन्छ जसले समुदाय विखण्डनको प्रमुख कारण बन्नसक्छ । यसले भयानक मानवीय क्षतिको वातावरण वा धार्मिक सम्प्रदायको विध्वंश गर्नका लागि मद्दत पुग्ने विश्लेषण गर्न सकिन्छ । यसर्थ, प्रेम गलत होइन तर प्रेमका नाममा हुने आतंकवादी मनसायको घुसपैठ गलत हुनेछ । तर, प्रेम जिहादका नाममा कति आम निर्दोष प्रेमलाई पीडा दिने काम भइरहेको छ त ? यसको हेक्का राखिएको छैन । के एक मुस्लिम युवक र मुस्लिम युवतीको प्रेम र विवाह हुनासाथ त्यसलाई लभ जिहाद भन्ने त ? भारतकै इज्जतका रूपमा रहेको बलिउड बाद्शाह शाहरुख खान, आमिर खानलगायतको विवाह हिन्दु महिलासँग भएको छ के त्यो लभ जिहाद हो त ? कतिपय भारतीय हिन्दु नेताको विवाह मुस्लिम महिला र मुस्लिम नेताको हिन्दु महिलासँग भएको छ, के ति लभ जिहादका अंश हुन् ? यो पनि बहसमा छ । त्यसो भए आम हिन्दु र मुस्लिमबीचको प्रेमलाई किन लभ जिहादका नाममा दण्डित गर्न थालिएको ? छानविन आवश्यक छ ।

यी सबै बहस र मुद्दा एकातिर चलिरहे पनि प्रेम त निष्पक्ष परिभाषाको प्रतिक हो । यसको स्वार्थपूर्ण र समाज विध्वंशक प्रयोगलाई प्रेम भन्ने त ? नभन्ने । तरपनि हतियारको बलमा विश्व जित्छु भन्ने आतंकवादी संस्था र सैन्य संगठन तथा राज्यले ‘प्रेम’ चाहीँ मानेछन् । यदि कोही युद्धका लागि प्रेमलाई हतियार बनाउने रणनीतिक अभ्यास गर्छ भने विश्वसमुदायले अब मान्नुपर्छ, फलामी हतियार भन्दा प्रेम निक्कै शक्तिशाली हतियार हो ।

The post के आतंकवाद विस्तारका लागि ‘प्रेम’ भयानक हतियार बनिरहेको छ ? appeared first on Sajha Post.