स्थानीय सरकार : विकास राजनीति र युवा हस्तक्षेप

| प्रकाशित मिति: शनिबार, बैशाख २, २०७४


Loading...

नेपालको राजनीतिमा कुनै खतरनाक तिडकडम नभए नववर्षको सुरुवातसगै शिशु गणतन्त्रको लोकतान्त्रिक आधार एकाइ मानिने स्थानीय सरकार स्थापित हुँदैछ । चुनावमा उम्मेद्वार हुन चहाने दलीय वा गैरदलीय व्याक्तिहरुको स्थानीय स्तरमा संगठनिक चहलपहल र सक्रियताले स्थानीय स्तरमा चुनावी सरगर्मी बढेको संकेत गर्छ । मुलधारका राजनीतिक दलहरुलेले संविधान र राज्यपुनर्संरचनामा प्रकट भइरहेका असहमति र विरोधका आवाजहरुलाइ जनभावना अनुकुल सन्तुलित सम्बोधन गरेर सबैलाई विश्वासमा लिनु नै उपयुक्त हुन्छ । राज्यका सबै क्षेत्र र समुदायका नागरिकहरुको अपनत्वसहितको सहभागिताको सुनिश्चिताले मात्र राजनीतिक स्थिरता, आन्तरिक राष्ट्रियता र दिगो विकासको खिलाफमा देखिएको धमिलो अतिवादी मिराजलाई चिर्न सक्छ ।

Loading...

आशा गरौं, अब हुन लागेको स्थानीय निर्वाचनले राजनीतिक व्यावस्था र अधिकारको लडाईलाई विस्थापित गर्दै परिस्कृत राजनीतिक संस्कारसहितको राष्ट्र विकासको फराकिलो राजमार्ग तयार गर्नेछ ।

ध्रुव खड्का

संघीय गणतान्त्रिक संविधानको कार्यान्वायनमार्फत परिवर्तनलाई अनुभूति हुनेगरी संथागत गर्न राजनीतिक दलले अब विकासको राजनीतिलाई मुल मन्त्र बनाउनुपर्छ । स्थानीय निर्वाचनमा राजनीति विचारको बहस गौण बनाउन सकियो भने अझ उच्च स्तरको प्रतिस्पर्धी वातावरण बन्छ । तर दलहरुले यसलाई सकारात्मकरुपमा लिएका छैनन् । जनताले यो बुझ्न जरुरी छ की स्थानीय निर्वाचनमा कुनै दल वा व्यक्तिले धर्म, जातीय/क्षेत्रीयता, खोक्रो राष्ट्रवादजस्ता विषयलाई चुनावी नारा बनाउँछ भने त्यो सरासर राजनीतिक भ्रमको खेती गरेर जनतालाई गुमराहामा राख्ने प्रपन्च मात्र हो । अब निर्वाचनलाई झुट र आश्वासनको फुलिन्दा बनाई रहन हुन्न । स्थानीय सरकार संविधानले सुनिश्चित गरेका अधिकारलाई जनतामा पुर्‍याउने र राष्ट्र निर्वाणमा प्रत्यक्ष सहभागी गराउने स्थानीय जनता सिधा जोडिएको कार्यकारी लोकतान्त्रिक एकाइ हो । त्यसैले निर्वाचनको म्याराथुनमा उमेद्वारको कार्यक्षमता,  सामाजिक आचरण र नगर विकासका मुर्त योजनालाई प्रतिस्पर्धा तथा छनौटको मुख्य आधार बनाउन राजनीतिक दल र नागरिकहरुले सचेत पहल गर्ने बेला आएको छ । भौतिक विज्ञानमा लागू हुने रिजोनेन्सको सिद्दान्तलाई राजनीतिक विज्ञानमा मनन गर्ने हो भने निर्वाचनमा उमेद्वार र समाज तथा बहुसंख्यक मतदातहरुको फ्रिक्वेंसी (चरित्र) मिलेर नै नेतृत्व चुनिने गर्छ । यदि मतदाताहरुले समृद्धि, सुशासन तथा समानता चाहेको हो भने त्यहि अनुरुपको नेतृत्वसग रिजोनेन्स गराउन चुक्नु हुन्न ।

संविधानले स्थानीय तहलाई महत्वपूर्ण अधिकारहरु दिएको छ । स्थानीय सरकारको अधिकारलाई प्रभावकारी  कार्यान्वायन गर्न सक्ने, विकासका योजना बनाउने, आयका श्रोत पहिचान र परिचालन गर्न सक्ने क्षमतावान तथा दुरदर्शी व्यक्ति निर्वाचित हुन सके छोटो समयमा नै जनताले परिवर्तनको आवास पाउन सक्छन् । निर्वाचनमा भाग लिने राजनीतिक आवद्ध व्यक्ति तथा स्वतन्त्र उमेदवारले वस्तुनिस्ट विकासका योजनाहरुसहितका चुनावी प्रतिवद्धताका साथ जनतामा जानुपर्छ । नेताहरुको जनतालाई मुर्ख बनाउने कुटिलतालाई व्यंग गर्दै एक जना प्रसिद्ध लेखक एडोनिसले भनेका छन्, ‘मतदान भनेको कुन राजनीतिक दल वा नेताले जनतालाई उसको भाषणबाट कति धेरै भ्रामिक प्रभावमा पार्‍यो भन्ने कुराको मापन हो । अब मतदाताहरुलाई भ्रममा पारेर उल्लु बनाउने छट्टु चाला बन्द गर्नुपर्छ ।

मुलतः राजनीतिक दलहरुले आफुले विगतमा गरेका कामलाई बढाईचढाई गर्ने, हावादारी योजना बनाउने, गैरराजनीतिक हौवा फैलाउने तथा मतदातालाई पैसाको प्रभावमा पर्ने भन्दापनि आफ्ना विगतका कमीकमजोरीहरुलाई सच्चाउँदै आफ्नो गाउँसहरको विकास यसरी गर्छु भनेर ठोस खाकासहित जनताको विश्वास जित्ने संस्कार बसाल्नुपर्छ । हो, जनतालाई अधिकार सम्पन्न बनाउन विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा राजनीतिक दलहरुको विशिष्ट योगदान छ । त्यसको मुल्यांकन जनताले गर्ने नै छन तर देश र जनताको प्रगतिको लागि सहि अर्थमा नेतृत्व लिन चाहने हो भने राजनीतिक दलहरुले सबैखाले गलत प्रवृतिलाई पूर्णरुपमा निषेध गर्न आनाकानी गर्नु हुन्न ।

स्थानीय सरकारको निर्वाचनसँगै जनताले प्रशासनिक तथा अन्य सरकारी सेवा सुविधामा सहजरुपले प्राप्त गर्ने छन् तर, त्यसलाई प्रभावकारी बनाउन निर्वाचित नेतृत्वको अहम् भूमिका हुन्छ । यदि विचौलिया प्रवृतिका नेतृत्व आएमा जनतालाई थप आहत हुने निश्चित छ । स्थानीय स्तरका विकासका आयोजना, खानेपानी, साना-जलविद्युत, भूमि व्यवस्थापन, कृषि उत्पादन र बजारीकरणजस्ता जनताका जनजीविकासँग जोडिएका क्षेत्रहरुको विकासमा विशेष प्रोत्साहन तथा सहजीकरण गर्न सके स्वरोजगार तथा आर्थिक सामाजिक क्षेत्रमा छोटो समयमा ठूलो फड्को मार्न सक्छ । तर, गलत नेतृत्व हावी भएमा स्थानीय सरकार दलाल र घुसखोरीको अखडा हुनेछ । अहिले देखिएको अर्को विकराल समस्या भनेको सरकारी/सामुदायिक विद्यालयमा भएको व्यापक राजनीतिकरण गर्दा निम्तिएको खस्कँदो शैक्षिक स्तर अनि शैक्षिक माफियाको बोलवाला हो । गुणस्तरीय तथा रोजगारीमुलक शिक्षालाई वर्गीय पहुँचमा ल्याउन राजनीतिक नेतृत्वको रचनात्मक भूमिका आवश्यक छ । बिडम्बना यस्तो छ कि, नेता, सरकारी शिक्षककर्मचारीहरु छोराछोरीलाई निजी विद्यालयमा पढाउँछन्, अनि सरकारी विद्यालयमा चरम राजनीति र नातागोता तथा कार्यकर्ताको भर्ति केन्द्र भएका छन् । दलका नेता, चन्दादाता तथा समर्थकहरु नै शैक्षिक माफिया छन्, यसलाई चिर्न जबर्जस्त नेतृत्वको आवश्यक छ ।

समग्रमा भन्नुपर्दा अहिले स्थानीय सरकारलाई दिइएको अधिकारलाई कुशल नेतृत्वले राजनीतिक आग्रह र माफियाहरुको चंगुललाई चिर्दै जनतालाई केन्द्रमा राखेर काम गर्ने हो भने कम्युनिष्टहरु भन्ने गरेको साम्यवाद वा विपीले कल्पना गरेको सामाजवादको न्यूनतम आधार तयार गर्न धेरै समय लाग्दैन । यदि ५०/६० जना स्थानीय नेतृत्वहरुले मात्र भएपनि उदाहरणनीय काम गर्न सके त्यसको सकारात्मक प्रभाव पुरै देशभरी पर्ने निश्चित छ । हो, चुनौतीका पहाडहरु छन् तर चुनौतीलाई अवसरमा बदल्ने दृढ संकल्प गरेमा समतामुलक समाजका सुनौला फाँटहरुमा पुग्न सकिने प्रशस्त सम्भावनाहरु त्यति टाढा छैनन ।

तर अहिलेको स्थानीय चुनावी वहस आमजनताले चाहे जस्तो तथा परिवर्तनको अनुभूति गर्ने तवरले हुन सकेको छैन । दलाल राजनीतिले यसरी गाजेको छ कि अहिले प्रतिस्पर्धामा रहेका दलहरुका मुख्य पदका धेरै जसो आकांक्षी उमेद्वारहरुमा स्थानीय भू-माफिया, स्थानीय श्रोत साधन (ढुंगा, बालुवा, वन पैदावार, काठ) दोहनका ठेकेदार तथा तिनका संरक्षक, वैदेशिक रोजगारीका दलाल, अनि ठूला नेताको निकट रहेका स्थानीय दादाहरुको बोलवाला छ । यिनीहरुले जनतालाई अनेकौ तरिकाले मनि/मसलको प्रयोग गरेर प्रभावित पार्ने अनि प्रतक्ष्य अप्रत्यक्षरुपमा स्थानीय स्रोत साधनमा निहित स्वार्थ बोकेका मानिसहरुको पकड रहने सम्भावना छ । राष्ट्रिय मिडियामा यस्तै पात्र र प्रवृतिहरूले विभिन्न दलआवद्ध स्थानीय प्रमुख उप-प्रमुखको सम्भावित उमेद्वारहरुको स्यालहुइया मच्चाइरहेका छन्, यहाँ चुनावी तालमेलका, राजनीतिक जालझेलका विषयले प्रशय पाइरहेका छन् । चुनावी एजेन्डा, विकासका योजना र संभावना, उमेद्वारको क्षमता, सामाजिक तथा आर्थिक अनुशासनको बारेमा राष्ट्रिय मिडिया र विश्लेषकहरुले खुलेर बहस चलाउन सकिरहेका छैनन् । भ्रम र भयरहित वातावरणमा मतदाताले राजनीतिक विचारको चौघेरा नाँघेर सबल नेतृत्वलाई मतदान गरे मात्र राजनीति परिवर्तनले जनजीवनमा सार्थक परिवर्तन गर्न सकिन्छ नत्र कान चिरेका जोगीको उखान भट्याइ रहनुपर्ने हुन्छ ।

राजनीतिलाइ शुद्धिकरण गर्न नागरिकहरु आफैले इमान्दार प्रयास गर्नैपर्छ । जनताले बुझ्नुपर्ने कुरा के हो भने विकासकेन्द्रित राजनीतिक डिस्कोर्स सही नेतृत्वको छनौटले मात्र तय गर्न सक्छ । राजनीतिमा सहि पात्र र प्रवृतिलाई स्थापित गर्न कुनै क्षेत्रमा स्थापित सफल, शिक्षित, स्वच्छ सामाजिक आचरण भएको, समाज र राष्ट्रको लागि केहि गर्छु भन्ने भावना भएको गतिशील व्यक्ति छनौट गर्नुपर्ने हुन्छ । यसको लागि मतदाताहरुले उत्कृष्ट उमेद्वार छनौटमा पारिवारिक राजनीतिक पृष्ठभुमि, नातागोता, निकटता, आर्थिक प्रभावभन्दा माथि उठेर मतदान गर्नु जरुरी छ ।

हाम्रो देशको उदोगतिको प्रमुख कारक लामो राजनीतिक सक्रमण र भ्रस्ट राजनीति हो भन्ने कुरामा दुईमत छैन तर, त्यसको मूल जरो भनेको सबै तहको चुनावमा सहि पात्र छनौटमा जनता चुक्नु नै हो ।

एकजना अमेरिकी राष्ट्रपति रुजुभेल्टले भएका थिए, ‘भोट भनेको त्यो राइफल हो जसको प्रभावकारिता मतदाताको चरित्रमा निर्भर हुन्छ ।’ हो, अब पनि मतदाताले मतको राइफललाई पहिले जस्तै गलत निशाना लगायौं भने प्रश्न नेताहरुमा मात्र होइन हामी मतदाताहरुको चेतना तथा चरित्रमाथि पनि तेर्सिन्छ । त्यसैले अबका सबै निर्वाचनमा मतपत्रमार्फत खराब पात्र र प्रवृतिलाई निषेद गर्नैपर्छ । राजनीतिक दलको आबद्धता भन्दा पनि दलको प्रतिनिधित्व गर्ने पात्रको गुणदोषको आधारमा मतादेश जाहेर गर्ने चेतना विकसित भए मात्र राजनीतिक शुद्धिकरणको नया अध्याय शुरु हुन सक्छ ।

राजनीतिलाई सत्ताको खेल मात्र बनाएर देशको भविष्यमाथि जहिल्यै झेल गरिरहेको पुस्तालाई विश्राम लिन र अभिभावकीय भूमिकामा रहन युवापुस्ताले बाध्य पार्नुपर्छ । राजनीतिलाई विकास मूलवाहक बनाउन र देशका यावत चुनौतीहरुलाई सामना गर्न जनसंख्याको ठूलो हिस्सा रहेका युवा मतदाता र विभिन्न क्षेत्रमा सफल युवाहरुले हस्तक्षेपकारी निर्णायक भूमिका निभाउनु पर्ने बेला आएको छ । यति भन्दै गर्दा, हामी कहाँ बेरोजगारी युवाहरुको ठूलो संख्यापनि चुनावमा विभिन्न प्रलोभनमा पारेर अनुकुल प्रयोग गरेको दृष्टान्तहरु धेरै छन् । युवाहरु जिम्मेवार हुने हो, भ्रस्ट नेताको ललिपपमा नभुल्ने हो भने दुषित राजनीति धेरै हद सम्म सङ्ग्लो हुने थियो । युवाहरु राष्ट्रका वर्तमान हुन जसले राष्ट्रको भविष्यलाइ आफ्नो काधमा बोक्ने ल्याकत राख्दछन् । यदि युवाहरुले सहासका साथ हस्तक्षेप नगर्ने हो भने बुढाहरुले आर्यघाट नपुगुन्जेल छोड्नेवाला छैनन् । दुई दशकसम्म निर्वाचन नभएकोले पुराना दलहरुमा पाका आकांक्षीहरुको ठूलो जमात पनि छ । यसैबीच समाज र राष्ट्रको समृदिको नेतृत्व लिन सक्ने शिक्षित र विभिन्न पेशा, उद्दम, व्यावसाय तथा सेवामुलक क्षेत्रहरुमा सफल तथा स्थापित युवाहरुको ठूलो उत्साह देखिएको छ ।

अहिलेसम्म देशको उच्च राजनीतिक तहमा पुग्नेहरु अधिकार प्राप्तिको आन्दोलन तथा विद्यार्थी राजनीति स्थापित भएका थिए । अब समय फेरिएको छ, स्थानीय राज्य तहको विकास राजनीतिमा खारिएको काबिल नेता मात्र राष्टिय राजनीतिमा स्थापित हुन सक्छ । हो, अब ति कर्मठ युवाहरुले देशको यावत समस्याहरुलाई केलाउँदै समाधानका विकल्प बन्ने आत्माविश्वासका साथ जबर्जस्त उपस्थिति देखाउन जरुरी छ । अबको युवापिडीले दृढ मनोबलका साथ मिलेसम्म पार्टीको साथ लिएर नभए स्वतन्त्र उमेद्वारकारुपमा जनताको साथ लिएर विकास राजनीतिको लगाम हातमा लिन अब ढिलो गर्नु हुन्न ।

The post स्थानीय सरकार : विकास राजनीति र युवा हस्तक्षेप appeared first on Sajha Post.