सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने ?

| प्रकाशित मिति: आइतवार, चैत्र ६, २०७३


Loading...

दुनियाँ २१ औं होइन २२औं शताब्दीमा झैं दगुरिरहेको छ । अहिले अन्य बाँकी कुराहरुलाई थाँती राखी सूचना प्रविधिमा मात्र केन्द्रीत हुन चाहन्छु ।

विश्वव्यापीकरणसँगै तिव्र गतिमा विकसित प्रविधिले संसारलाई एउटा हत्केलाको साइजमा खुम्च्याइदिएको छ । प्रविधिको विकाससँगै अनलायन मीडिया र सामाजिक सञ्जालको प्रयोग तिव्र गतिमा बढेको छ । गुगलको तथ्यांकलाई आधार मान्ने हो भने विश्वभर १.६६ बिलियन फेसबुक प्रयोगकर्ता छन् भने ३१९ मिलियन ट्विटर प्रयोगकर्ता छन् । यी बाहेक अरु पनि थुप्रै लोकप्रिय सामाजिक सञ्जालहरु विश्वभर प्रयोगमा छन् ।

विश्वयापी कुरा छोडेर अब आफ्नै मातृभूमि नेपालमा केन्द्रीत हुन चाहन्छु :
नेपालमा ठ्याक्कै कतिको संख्यामा समाजिक सञ्जाल प्रयोगकर्ता छन् भनेर आधिकारिक तथ्यांक प्राप्त हुन सकेन तर जे होस् अहिले विभिन्न तह, तप्का तथा पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको उल्लेखनीय संख्याले प्रयोग गर्दछन् । फेसबुक र ट्विटर सर्वाधिक प्रयोग गरिने र रुचाइएका सामाजिक सञ्जालभित्र पर्दछन् ।

फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालका फाइदा/बेफाइदा दुवै छन् । अहिले त्यसको लामो ब्याख्यातिर पनि नजाउँ, तर कुरा के हो भने सही, सचेत र नियन्त्रित तरिकाले प्रयोग गर्ने हो भने यसका बेफाइदाभन्दा फाइदा धेरै छन् । यसकै माध्यमबाट आफ्ना भावना र विचारहरु ‘ पोस्ट’ र ‘ट्विट’ बटम क्लिक गर्ने बित्तिकै संसारभर पुर्‍याउन सकिन्छ । क्रिया-प्रतिक्रिया क्षणभरमै जनाउन सकिन्छ ।

मेरो आफ्नै एउटा अनुभव यहाँ बाढ्न चाहन्छु:
नाम नभनौँ, मेरा एक जना अभिन्न मित्रले मेरो फेसबुक स्ट्याटसमा कमेन्ट गर्नुभयो । उहाँले प्रयोग गर्नु भएको शब्द मैले स्वीकार गर्न सकिनँ र रिप्लाईमा लेखिदिएँ, ‘माफ गर्नुहोला, तपाईको शब्दलाई श्रदाञ्जली दिन चाहन्छु । कृपया, मर्यादित शब्द मात्र प्रयोग गरौँ ।’


लेखक: लेखनाथ पौडेल

फेसबुक मित्रले आफुले गरेको उक्त कमेन्ट केही घण्टापछि आफैँ डिलिट गर्नुभएछ । मलाई ठीक नलागेको या भनौँ नपचेको त्यो कमेन्ट उहाँ आफैँले डिलिट गरेको देखेर मनमनै धन्यवाद दिएँ, मेरो रिप्लाईले उहाँलाई सोच्न बाध्य बनायो वा फुर्सदमा आफुले प्रयोग गरेका शब्दको समिक्षा आफैँले गर्नुभयो । त्यो उहाँलाई नै छोडिदिन्छु । उहाँले जे लेख्नुभयो, त्यो मलाई मात्र होइन, उहाँ आफैलाई पनि ठिक लागेनछ । त्यसैले त डिलिट गर्नुभयो भने मैले समान्य अनुमान लगाएँ । हरेक मानिसबाट भुल हुन्छन् । त्यसलाई स्विकार गरेर सुधार गर्नु महानता र बुद्धिमता हो त्यसैले उहाँलाई फेरी पनि धन्यवाद ।

मैले पनि एक दुई शब्द मलाई मन नपर्दैमा ‘तपाईका शब्दलाई श्रदाञ्जली दिन्छु’ भनेर कडा रुपमा प्रस्तुत हुनु हुन्थ्यो या हुँदैन थियो, त्यो समिक्षाको जिम्मा पाठकलाई नै दिन चाहन्छु । यो कुनै आकाशनै खस्ने एकदमै ठूलो विषय पनि होइन । जम्माजम्मी एक दुई वटा शब्दका कुरा थिए । आफ्नो वालमा अरुले गरेका कमेन्टहरु मन नपर्दा डिलिट गर्न मिल्ने फेसबुकले दिएको सुविधा प्रयोग गरेर डिलिट गरेको भए पनि कुरा त्यहीँ सकिन्थ्यो । तर सोचेँ, कहिलेकाहिँ साना-साना विषयको आधारमा समग्र प्रवृतिको ब्याख्या गर्न सकिन्छ । त्यसैले यसलाई प्रतिनिधि घटनाको रुपमा उठाउने निधो गरेँ ।

कानुनले बर्जित गरेका कुरा बाहेक तपाई सामाजिक सञ्जालका भित्ताहरुमा तपाईलाई मन लागेको कुरा निर्धक्क लेख्न/राख्न सक्नुहुन्छ । जे-जे मन लाग्छ लेख्नुस्, त्यो तपाईको आफ्नो स्वतन्त्रताको कुरा हो । तर, अरुको वालमा प्रवेश गर्दा भने विचार पुर्‍याउनु पर्ने हुन्छ ।

हामीले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जालको एकाउंट हाम्रो निजी हो । तर जब हामी कुनै कुरा उक्त सञ्जालमा व्यक्त गर्छौ, ती विषयवस्तु व्यक्तिगत रहँदैन । स्वत: सामाजिक हुन जान्छन् । उक्त कुराहरुमा तपाईसँग जोडिएका/नजोडिएका विभिन्न व्यक्तिहरुका सहमति/असहमति हुनसक्छ । त्यो व्यक्त गर्ने अधिकार जो कसैलाई हुन्छ । सभ्य, शिष्ट र मर्यादित तरिकाले आफ्नो फरक मत जो कसैले राख्न सक्छ । तर विमती छ भन्दैमा अमर्यादित हुने छुट कसैलाई हुँदैन ।

आफ्नो घरभित्र बसेर अरुलाई मेरो घरमा प्रवेश नगर भन्न वा उसलाई गालीसम्म गर्न सकिएला तर अरुको घरभित्र गएर उसैलाई गाली र प्रवेश निषेध गर्न भने पटक्कै सुहाउँदैन/पाइँदैन अर्थात हुँदैन ।

सबैमा मेरो आग्रह छ । सामाजिक सञ्जालहरुमा अशभ्य नबनौं । मान्छेको परिचय रुपले होइन, उसको सोच, विचार अभिव्यक्ति र व्यवहारले दिन्छ ।

राजनीतिक व्यवस्था बदलिएको छ । राजनीतिक अस्थिरतासँगै मुलुकको अवस्था झनै बिग्रेको छ । सबै वर्ग र समुदायका मानिसहरु आफ्नो पहिचान र अधिकार सुनिश्चिताका लागि विभिन्न आन्दोलन र संघर्ष गरिरहेका छन् । सकारात्मक र रचनात्मक तरिकाले प्रयोग गर्न सक्ने हो भने सामाजिक सञ्जालमा आफ्ना कुरा सशक्त रुपमा अभिव्यक्त गर्न, आफ्नो पक्षमा जनमत सिर्जना गर्ने र राज्यलाई वा सम्बन्धित निकायलाई दबाब दिने महत्वपूर्ण र प्रभावकारी माध्यम बन्न सक्छ । हामीले आ-आफ्ना अधिकारका नाममा कर्तव्य चाहिँ भुसुक्कै भुलेका छौँ । जिम्मेवार बनौं । आफु सभ्य भएपछि मात्र समाज सभ्य हुने हो । सुरुवात आफैँबाट गरौँ । कर्तव्यबोधसहित अधिकारको प्रयोग गर्दा छुट्टै सन्तुष्टि प्राप्त हुन्छ ।

मुलुकको सबै भूगोलमा रहने हामी सबै नेपाली हौ । सबैभन्दा पहिला नेपाल र नेपाली अनि बल्ल नेपालभित्र रहेका विविध पहिचान र अधिकार ।

सामाजिक सञ्जालहरुमा अहिले हरेक घटनालाई पहाडी र मधेसी, धोती र टोपी, नाक चुच्चो र थेप्चो, बाहुन र जनजाति आदिका आधारमा सामान्यकरण गरिन्छ र त्यहीअनुसार ब्याख्या विश्लेषण वा तर्क/वितर्क गरिन्छन् । कुनै एक व्यक्तिको अभिव्यक्ति वा विचारका आधारमा सिंगो सुमदायप्रतिको धारणा बनाउनु न्यायपूर्ण हुँदैन । सामान्य मानिसले मात्र होइन विध्वस्त वर्गबाट समेत यस्ता किसिमका ब्याख्या विश्लेषण गरिएको पाइन्छ । यो शुभसंकेत हुँदै होइन । सामजिक सञ्जालको आरोप/ प्रत्यारोप हेर्दा कुनै दिन नेपालमा जातिय र साम्प्रदायिक सद्भाव बिग्रने पो हो कि भन्ने ठूलो चिन्ता बढेको छ । यसो हुनु हुँदैन । बहस/तर्कलाई सही दिशातर्फ लैजान जरुरी छ । यस्तो नराम्रो कुराहरु फैलिनुमा कुनै एक व्यक्ति, समुदाय वा राजनीतिक दललाई मात्र दोष दिएर हुँदैन । तपाई हामी सबै सकारात्मक हुनु अपरिहार्य भइसकेको छ । साथै सरकारका नियमक निकायहरु पनि चनाखो हुन जरुरी छ ।

The post सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने ? appeared first on Sajha Post.


Loading...