रविन्द्र मिश्रजी, यी चार प्रश्नको उत्तर दिनुहोस्

| प्रकाशित मिति: बिहिबार, चैत्र ३, २०७३


देशको अवस्था र राजनीतिले एकै पटक सयौं रविन्द्र मिश्रहरु खोजेको छ । देशमा सल्केको आगो निभाउन बाल्टीको पानी र दमकलको फोहराले मात्रै पुग्नेवाला छैन । यहाँ त ठूलो आँधी र ज्वारभाटाको खाँचो छ आगो सल्केकै ठाउँमा प्रहार गर्नलाई । राजनीति यति बिग्रिसकेको छ कि, अब यहाँ एउटा प्रयासले हुनेवाला छैन । सुरुवातै कसैले नगरी परिवर्तन सम्भवै हुँदैन। परिवर्तनका लागि कसै न कसैले सुरुवात गर्नैपर्छ । कांग्रेसले समाजवाद यहाँसम्म ल्याउन निकै कसरत गर्‍यो । एमालेले मार्क्सवाद र लेनिनवाद यो स्थानमा अवतरण गराउन पनि सानो कसरतले सकेको पक्कै होईन । माओवादीले पनि माओवाद १२ वर्षसम्म राईफलको मुखबाट रटाएर आज यो स्थानमा आएको छ । तराई केन्द्रित दल र नेताहरुको पनि आ-आफ्नै ईतिहास र पृष्ठभूमि छ ।


लेखक : उत्तम धमला
Loading...

राजतन्त्र, राणाकाल, प्रजातन्त्र, पञ्चायत, फेरी सक्रिय राजतन्त्र हुँदै गणतन्त्रसम्म आईपुग्दा जनताले विभिन्न व्यक्ति, संस्था र दलको शासन भोगिसकेका छन् । कसको शासनको गून बैगून के भनेर नकेलाऊँ यहाँ किनकि यो कुरा धेरैले धेरै पटक गरे । जसले जति वकालत र आलोचना गरे पनि जनताले यी वाद र तन्त्रबाट दु:ख बाहेक केही पाएनन् । एकाध व्यक्तिले गर्न खोजेका कामहरु पनि कसैका निश्चित स्वार्थका लागि गर्न दिईएन ।

विगतमा राजाले के गरे, कांग्रेसले के गर्‍यो, एमालेले के गर्‍यो या क ख गले के गरे भनेर विश्लेषण र व्याख्या गर्नमा यि हरफहरु पक्कै खर्चने पक्षमा म छैन । जनताको जीवनस्तरमा कुनै वाद र तन्त्रको शासनले कुनै सकारात्मक परिवर्तन ल्याउन सकेन । जनतामा बढ्दो निराशा बाहेक केही छैन अहिले । कांग्रेस, एमाले, माओवादी सबैका घोषणापत्र पढ्दा लाग्छ यिनीहरु अमेरिकाका डेमोक्र्याटिक नेशनल पार्टी र रिपब्लिकन पार्टीभन्दा बढी अग्रगामी, प्रजातान्त्रिक र परिवर्तनशील छन् । तर व्यवहारमा केही परिवर्तन भएन ।

सधैं झगडा, सत्ता केन्द्रित राजनीति र शीर्ष नेतृत्वमा ईमानदारिताको अभाव । पार्टी स्थापना कालदेखि आजसम्म यी दलले विभिन्न व्यक्तिलाई प्रधानमन्त्री, मन्त्री, सांसद, राजदूतबाहेक केही बनाउन सकेनन् । व्यक्तिगत र दलगत स्वार्थमा यि पदमा पुग्ने व्यक्ति यसरी लिप्त भएर जनता र देशको हितमा काम गर्नै सकेनन् । कुर्सीमा पात्र परिवर्तन भयो तर प्रवृति उही रह्यो ।

६० लाख युवा देश बाहिर छन् । निकै कम मूल्यमा श्रम बेचिरहेका छन् । देशमै रहेर केही गर्ने कोशिश गरेकाहरु पनि अन्तिममा निराश भएर विदेशै जानुपर्ने वाध्यता छ । विदेशमा भएकाहरुले पठाएको रेमिट्यान्सले देश चलेको छ भन्दा फरक पर्दैन ।

यस्तो समयमा आएको साझा पार्टी र रविन्द्र मिश्रको अगाडी चूनौतिको सानो पहाड छैन ।

१. तराई समस्या

तराईको समस्याले झनै ठूलो रुप लिंदै छ। तिन ठूला दल आ-आफ्नै डम्फू बजाईरहेका छन् । कसैसँग समाधानको ठोस एजेण्डा छैन । हेर्दा लाग्छ तराईमा आन्दोलन गर्नेहरुको पनि तराईको समस्या समाधान होस् भन्ने मनशाय छैन । काठमाडौं बस्नेलाई दोष लगाएर तराई भारतलाई बुझाउन यिनीहरु लागेका छन् भनेर विश्लेषकहरु भनिरहेका छन् । तपाईं अब आन्दोलनकारीलाई र सरकारमा बसेकालाई तिखो प्रश्न सोध्ने बीबीसी नेपाली सेवाका रविन्द्र मिश्र हुनुहुन्न । अब त तपाईं ढिलो चाँडो यो देशको प्रधानमन्त्री बन्नेवाला मान्छे हो । एउटा दलको नेता हो तपाईं । अब तपाईंसँग प्रश्न हैन उत्तर हुनुपर्छ । उत्तर पनि कांग्रेस, एमाले, माओवादी, जनमोर्चा, सद्भावना, फोरमका नेताहरुको भन्दा दमदार हुनुपर्छ । किनकि तपाईंलाई नेता बन्नै छ । उनीहरु बनिसकेका नेता हुन् । तपाईंसंग अरुसंग भन्दा फरक समाधानको उपाय के छ ?

२. बेरोजगारी

६० लाख युवा विदेशमा छन् । यो कुरा अहिले सानो बालकले पनि सुनेको छ । सबैलाई थाहा छ । विदेशिनुको कारण बेरोजगारी बाहेक अरु हुनै सक्दैन । पढ्नका लागि विदेश जानेहरु पनि थोरै मात्र फर्कन्छन् नेपाल । अवसर भन्ने चिजै नभएपछि आखिर देश फर्केर उही विकृत राजनीतिको शिकार हुनलाई, विदेशमा अवसर पाउँदा-पाउँदै फर्कनेलाई समाजलेनै मुर्ख भन्न थाल्छ । देशमा आसलाग्दो केही परिवर्तन दल र नेतृत्वमा देखिए मात्रै पनि लाखौं युवा नेपालै फर्केर आफ्नो सीप र जाँगरलाई प्रोडक्टिभ काममा लगाउन तयार छन् । देशमै रोजगारी सिर्जना गरेर अदक्षदेखि अर्ध दक्ष अनि दक्ष जनशक्तिलाई नेपाल फर्काएर नेपालमै आम्दानी गराउन सक्ने तपाईंको के योजना छ ?

३. विकृत विद्यार्थी र पेशागत राजनीति

भर्खरै केही क्याम्पसमा स्ववियु चुनाव सम्पन्न भयो । त्यसका दौरान भएका घटनाक्रमहरु हेर्दा लाग्छ विद्यार्थी राजनीति नेपालको माउ राजनीति भन्दा झनै विकृत छ । क्याम्पसमा आगजनी, तरबार हानाहान, खुकुरी हानाहान आदि ईत्यादी सभ्य समाजमा सुहाउने कुरो हैन । विद्यार्थी भनेका त भोलि देश हाँक्ने शक्ति हुन् । यिनको दिमागमा यस्तो गोबर भरिएपछि यिनीहरुबाट देशले के आशा गर्ने ? मैले यी हरफहरु कोर्दै गर्दा, तपाईंले तयार पार्नुभएको विद्यार्थी राजनीतिको खाका पनि भर्खरै बाहिर आएको छ । त्यसैलाई पनि रिफरेन्स मानेर मैले केही आशलाग्दो भोलिका बिहानीहरु कल्पना गर्न सक्छु । तर लिपिलाई व्यवहारमा उतार्न सक्ने तपाईंको संरचना र योजना कस्तो हुने छ ?

विध्यार्थी राजनीतिपछि देशको बोझको रुपमा रहेको कर्मचारी र शिक्षक राजनीतिलाई तपाईंको पार्टीले कसरी व्यवस्थापन गर्ने योजना बनाएको छ ? यस्ता संस्थाहरुमा साझा पार्टीको भातृ संगठन रहने छ कि छैन ? यसलाई व्यवस्थित ढंगले परिचालन गर्न तपाईंको योजना के छ ?

४. शासन व्यवस्था

अनलाइनमा कतै नभेटिएको र हार्डकपि पनि प्राप्त गर्न नसकिएकोले तपाईंको पार्टीको विधान र अवधारणा मैले पढ्न पाएको छैन । तर पनि मनमा लागेको, तपाईंको पार्टीले वर्तमान संविधानमै व्यवस्था भएजस्तो सासन व्यवस्थालाई हुबहु मान्ने हो की प्रमुख कार्यकारी चाहिँ जनताले सिधै चुन्न पाउने व्यवस्था लागू गराउन पहल गर्ने हो ? यो प्रश्न पनि अहिले आम सर्वसाधारणको मनमा व्याप्त छ ।

समस्याहरु मात्रै केलाएकोले मलाई निराशावादी नभन्नुहोला । साझा पार्टीको नाम र पात्रलाई मात्रै अहिले जनताले विश्वास गर्न सक्ने अवस्था छैन । थोरै आश भने पक्कै पलाएको छ । एकै झड्कामा सफलता प्राप्त गर्न गाह्रो छ। यौटै चुनावमा झ्याप्पै २/३ ल्याएर कायापलट गर्छु भन्ने सोचाई तपाईमा पनि पक्कै छैन होला । हरेश नखानोस् । समय लाग्छ तर असम्भव भने छैन है ।

(हालः क्यालिफोर्निया, अमेरीका)

The post रविन्द्र मिश्रजी, यी चार प्रश्नको उत्तर दिनुहोस् appeared first on Sajha Post.


Loading...