लोकतन्त्रको शोकगीत– ‘थ्यांक्स फर नाइन्टी भोट्स’

| प्रकाशित मिति: मङ्लबार, चैत्र १, २०७३


Loading...

मणिपुरको मालोम बस स्ट्यान्ड । तारिख २ नोभेम्बर २००० । एक महिला कवि गाडी पर्खिरहेकी थिइन् । त्यत्तिकैमा सुरक्षाबलको एउटा दस्ताले अन्धाधुन्ध गोली प्रहार गरी १० युवाको हत्या गर्छ । कवि हृदय रुन्छ । भारतीय संविधानमा अपराधी वा आतंकवादीलाई समेत यस्तो सजाय दिने प्रावधान छैन ।

ती महिला कवि त्यो निर्दोष युवालाई गोली हान्ने अधिकार दिने कालो कानुन सशस्त्र बल (विशेषाधिकार) अधिनियम अर्थात् आफ्सपाविरुद्ध लड्ने फैसला गर्छिन् । यो पूर्वोत्तरका केही राज्यमा लागू छ । यो कानुनले कुनै पनि शंकास्पदमाथि गोली हान्ने अधिकार दिएको छ ।

ती महिलाको नाम हो इरोम शर्मिला चानु । इरोमले भोलिपल्टबाटै यो कानुनविरुद्ध अनशन सुरु गरिन् । त्यो १६ वर्षसम्म लम्बियो । आत्महत्याको कोसिसको आरोपमा पुलिसले हिरासतमा राखेर नाकमा नली राखेर खाना दिइरह्यो । इरोम अनशन गर्दै गइन् र हार्दै पनि ।

दिल्लीको एक अदालतमा इरोमले गत वर्ष आँखामा आँसु ल्याउँदै भनेकी थिइन्, ‘म बाँच्न चाहन्छु । बिहे गर्न चाहन्छु । प्रेम गर्न चाहन्छु । तर, त्यसअघि हाम्रो प्रदेशबाट सशस्त्र बलको विशेषाधिकार अधिनियम हटाइयोस् ।’ १६ वर्षसम्म इरोम एउटा उद्देश्यका लागि लडिरहिन् र हारिरहिन् ।

जुन प्रदेशका जनताको बाँच्ने अधिकारका लागि इरोम १६ वर्षसम्म लडिरहिन्, तिनै जनताले उनको राजनीतिक सपनालाई क्रूरतापूर्वक मारिदिए ।

अन्ततः इरोमले निर्वाचनको बाटोबाट विधायिकामा जानेछिन् र यो कानुनको विरुद्ध लड्नेछिन् । उनी यसपटक मणिपुरका मुख्यमन्त्रीका विरुद्ध लडिन् र ९० भोट पाएर हारिन् । जुन प्रदेशका जनताको बाँच्ने अधिकारका लागि उनी १६ वर्षसम्म लडिरहिन्, तिनै जनताले उनको राजनीतिक सपनालाई क्रुरतापूर्वक मारिदिए । इरोमले आँखामा एउटा सपना लिएर निर्वाचन अखडामा प्रवेश गरेकी थिइन् । उनी आँखाभरि आँसु लिएर यो अखडाबाट बाहिरिएका छिन् । निस्कँदा–निस्कँदै भनेकी छिन्, ‘अब यहाँ कहिल्यै आउनुछैन ।’ उनले राजनीतिक जीवन नबाँच्दै त्यसबाट सन्न्यासको घोषणा गरिन् ।

अफ्सपालाई लिएर १६ वर्षसम्म अनशन गर्ने इरोम त्यसरी नै हारिन् जसरी मणिपुरमा मनोरमा हारिन् । मनोरमा काण्डमा न्याय दिलाउनका लागि नांगै भएर प्रदर्शन गर्ने महिला पनि हारे । बस्तरमा मडकम हिडमे तथा सुखमती पनि हारे । यो हारको बदलामा इरोमले फेसबुकमा लेखिन्, ‘थ्यांक्स फर ९० भोट्स ।’

जसरी निर्वाचनमा नोटबन्दीबाट मारिएका करिब एक सय ५० मानिस कुनै मुद्दा बनेनन्, जसरी उत्तर प्रदेशमा कुपोषित आधा महिलाहरू मुद्दा बनेनन्, जसरी पखाला र इन्सेफलाइटिसबाट मर्ने लाखौँ बच्चा कुनै मुद्दा बनेनन् त्यसैगरी इरोमले १६ वर्षसम्मको संघर्ष गरेको र जीवन दिन चाहेको पनि कुनै मुद्दा रहेन ।

जुन लोकतन्त्रमा पत्नीको हत्याको मुद्दामा जेलमा बन्द रहेको अपराधीले निर्वाचन जित्छ, गुन्डाहरू चुनिन्छन्, त्यस्तोमा हत्याको विरोधमा जिन्दगी नै बिताइदिने इरोमको हार निश्चित थियो । तमाम गुन्डाहरूलाई भारी बहुमतले जिताउने जनताले आँसुले सुन्निएका आँखा, नाकमा नली हालिएकी कवयत्रीको अनुहार मन पराएनन् ।
इरोमले अनशन तोडेर चुनावी राजनीतिबाट परिवर्तन ल्याउने फैसला गरेकी थिइन् । तर, मणिपुरका मतदाताले इरोमलाई निर्वाचित गर्न उचित सम्झेनन् । उनलाई केवल ९० भोट मिल्यो । निर्वाचन परिणामपछि इरोम रोइन् र राजनीतिबाट सन्न्यासको घोषणा गरिहालिन् ।

निर्वाचन हारेपछि उनले भनेकी छिन्– म यो राजनीतिक प्रणालीबाट आजित भएकी छु । मैले सक्रिय राजनीति छाड्ने फैसला गरेँ । म दक्षिण भारत जान्छु किनकि मलाई मानसिक शान्ति चाहिएको छ । तर, अफ्सपाविरुद्ध लडाइँ जारी राख्नेछु ।’ अर्थात्, इरोम फेरि त्यो अँध्यारो गल्लीमा फस्न पुगेकी छिन् जहाँ भयंकर अन्धकार छ, तर्साउने सन्नटा छ र इरोम एक्लै छिन् ।
(भारतीय टिप्पणीकार कृष्णकुमारको द वायर डट इनमा प्रकाशित लेखको भावानुवाद)
-नयाँ पत्रिका दैनिकबाट

The post लोकतन्त्रको शोकगीत– ‘थ्यांक्स फर नाइन्टी भोट्स’ appeared first on Sajha Post.


Loading...