के यो बाबुरामले सस्तो लोकप्रियताका लागि गरेका हुन् ?

| प्रकाशित मिति: शनिबार, फाल्गुन २८, २०७३


एकजना साठी बर्षिय बुढा हरेक शनिबार हतार हतार चिया पिएर वाग्मतीको छेउ जान्छन् र नालीहरुबाट फोहोर टिप्दै बोरामा जम्मा गर्छन् । कसैले उनको फोटो खिचिदिन्छ अनि सामाजिक सञ्जालमा भाईरल बन्छ । अनि हामी त्यहि फोटोमा आफ्नो शब्दकोशमा भेटेजति गालीका शब्दहरु बर्साउन थाल्छौँ ।

Loading...

बिषयवस्तुको गम्भिरता के हो हामीलाई थाहा छैन । तस्बिरको मूल्य कति छ हामीलाई थाहा छैन । यी बुढाले टिपेका फोहोरको थुप्रा कसले फाल्यो त्यो ठाउँमा थाहा छैन । तर हामी गाली यिनैलाई गर्छौँ । मानौँ, यिनले त्यहाँ गएर हामीले सजाएर राखेको कुनै सुन्दर वस्तु उठाएर लगे ।

त्यो वाग्मतीको किनारमा यिनले टिपिरहेको प्लास्टिक झोला र बोतल त्यहाँ कसले फाल्यो त ! हामी मध्ये कोहि कसैले ? गलत हामी गर्छौँ, गाली यिनलाई, किन ?

होला यो फोटोमार्फत उनले आफ्नो लोकप्रियता बढाउन खोजे होलान् तर हामीले फोहोर नगरेको भए यिनले घरबाट फोहोर बोकेर लगेर टिप्दै फोटो खिच्ने थिएनन् । यी मनुवाहरुले तीन बर्षदेखि टिपिराख्दा पनि ति ठाउँहरुमा फोहोर किन घट्दैन त ? किनकि हामीले उनीहरुको कामको सराहना गर्न जानेनौँ ।

कसैले सफा गर्न खोजेको ठाउँमा फोहोर गर्न हामीलाई लाज लागेन बरु उनीहरुको फोटो र लेखहरुमा हाम्रो दिमागमा भएको फोहोरहरु विसर्जन गरिरह्यौँ । केहिगरी हामीले उनको प्रयास बुझेर उनको कामको अनुशरण गर्न सकेको भए आज काठमाडौं कस्तो हुन्थ्यो होला ?

बाराक ओबामाले रेस्टुराँमा गएर एकदिन ग्राहकलाई सेवा दिँदा उनको भजन गाउने हामी बाबुरामले तीन बर्षसम्म हरेक शनिबार वाग्मतीमा डुब्दा सस्तो लोकप्रियता मात्र देख्यौँ । तर थुक्क हाम्रो मानसिकता ! नेतालाई गाली गरेर र छिमेकीलाई सरापेर देश बन्ने भाको भए देश सिङ्गापुर भैसक्थ्यो ।


लेखक : मणि खतिवडा

नागरिक हुनुको नाताले हाम्रा पनि केही दायित्व हुन्छ । त्यो मध्ये एक सहि विचारको सम्प्रेषण पनि हो । यसको लागि हाम्रो मानसिकता बदल्नुपर्छ ।

आदरणीय डा. बाबुराम भट्टराई सर !
हुन त तपाईँका कतिपय विचारहरुप्रति मेरो घोर आपत्ति छ। तपाईँले चालेका कतिपय कदमहरु गलत थिए । तर, यी र यस्तै अनुकरणीय र मनछुने कामको लागि मनैदेखि सम्मान गर्दछु ।

कतै पढेको थिएँ- ‘हाकिम र नेतामा यहि फरक हुन्छ । हाकिमले ‘जा यो काम गर’ भन्छ । नेताले ‘आउनुहोस् मिलेर गरौँ ।’ अन्यत्र जे जसो भएपनि यहाँ एउटा नेताको गुण देखाउनु भयो । तपाईको हर कुराको समर्थन त गर्न सक्दिनँ तर, तपाईलाई आफ्नो प्रेरणाको स्रोत मान्दै आफ्नो वरपर सफाई राख्न हर सम्भव कोसिस गर्ने छु । र, अरुलाई पनि प्रेरित गर्ने छु ।

 

The post के यो बाबुरामले सस्तो लोकप्रियताका लागि गरेका हुन् ? appeared first on Sajha Post.


Loading...